म कुमारी आमा

रामनाथ खनाल - / सामाजिक कथा- राज्यले नागरिकलाई दिएको पहिचान भनेको एक थान नागरिकता न हो । त्यसवाहेक गरिबी, अभाव र मजस्ता समस्याको चंगुलमा फसेका वेसहारा म जस्ता कयौँ नागरिकहरूले राज्यबाट के पाएका छन् र ?
मैले सानैमा पढेको हुँ । सुनेको हुँ । र मेरो बुझाइमा राज्य भनेको खुला आकाशमा उदाउने घाम जस्तै हो । जसको उज्यालोबाट धर्तीको कुनै हिस्साले अन्याय व्यहोर्नु पर्दैन । मैले बुझ्दै छु यो राज्य त एउटा झुण्डको मात्र हो । जसको वरिपरि राज्य न्यूक्लियस जस्तो घुमेको छ र त्यो कालो घेराबाट बाहिर आउनै सकेको छैन । जसले आजसम्म नागरिकलाई दुःख दिन बाहेक अरु केही जानेकै छैन । यदि त्यसो हुँदैनथ्यो भने आज म मेरी छोरीलाई किन मेरो परिचय दिन सक्दिन ? तँ मेरै रगतबाट जन्मिएकी होस् भनेर किन यसलाई मैले नाम दिन सक्दिन ? कसैले भन्न सक्छ कि यो मेरी छोरी हैन भनेर ?
ऊ मुर्मुरिन्छे । भित्र भित्रै दाह्रा किट्छे ।
ऊ एक थान नागरिकताको लागि जिल्ला प्रशासन कार्यालय धाएको वर्ष दिन पुरा भइसकेको छ । तर पनि एक थान नागरिकता दिन पनि प्रशासनले अनेक अड्चन खडा गरिदिएको छ । जसलाई ऊ सहजै पार गर्न सक्दिन ।
छोरी अनायसै प्रश्न गर्छे, ‘आमा म नागरिक हुन के गर्नु पर्छ ?’
‘तँ नागरिक हुन बाबुको छोरी हुनु पर्छ । या कसैकी स्वास्नी बन्नु पर्दछ । यदि दुवै भइनस् भने यसै गरी अनागरिक बन्नु पर्छ ।’ कुरा बुझिस् तैँले ।
‘बुझेँ’, छोरीले मनमनै मुन्टो हल्लाई ।
0
‘तँ त कस्ती नक्कली छेस’
स्यानी हुँदा उसलाई सबैले यसै भन्थेँ ।
‘नकराओ नकचरी हो’ तत्काल त उम्किन्थी तर पनि किन किन यो शव्दले उसलाई भित्रभित्रै घोच्थ्यो र काउकुती लगाउँथ्यो ।
उमेरले पन्ध्रै नकाटे पनि ‘मलमा परेकी मुला’ जस्तो हलक्कै बढेकी ।
घरमा पनि उसलाई त्यसै भन्थे, ‘यो त कति साह्रो नक्कली, सोह्रै नकाटी पोइल जान्छे जस्ती छे ।’
सुलुत्त परेको जीऊडाल । मिलेको ओठ दाँत । सिल्की कपाल । पुष्ट छाती । बाटुलो तथा गोरो अनुहार ।
ऊ दोहोर्याएर तेहेर्याएर ऐना अघिल्तिर आफूलाई उभ्याउँथी । आफ्नो सुन्दरताको मादकतामा आफैँ मोहित हुन्थी । लट्ठिन्थी । उसलाई आफूमा कुनै किसिमको कमिको महसुस हुँदैनथ्यो ।
कक्षामा पनि सबै केटाको नजर उही तिरै हुन्थ्यो । बैँसमा नलागेको केटाको आँखा कहिले लाग्छ त ? ऊ यस्तै सोच्थी । कक्षाकोठमा बेन्चको अघिल्लो सिटमा बस्दा पछिल्लो सिट्मा केटाहरूले कागज पोको पारेर ऊ भएतिरै मिल्काउँथे । अरु केटीहरू प्रतिवाद गर्थे । ऊ भने कुनै वास्ता गर्दिनथी । पछि केटाहरू आफैँ थाक्थे । यस्तै गरी उसको स्कुले जीवन पार लाग्यो ।
पयुँ फुलेसरी फूलेको उसको यौवनमा नलट्ठिनेहरू सायदै कोही थियो होला । छोरी हुर्किइसकेकोले घरमा पनि विहावारीको कुरा नचलेको होइन तथापी ऊ बिहे गरिहाल्ने पक्षमा थिइन । घरमा ऊ भएको नभएको बेलामा उसलाई केटाहरू हेर्न आउँदा ऊ आमासँग लडिबुडी खेल्थी । बिहे नगर्ने अड्डि कस्थी । उसको बालहठको अगाडि बा–आमा हायल कायल हुन्थे ।
लौ मर ! भनेर चुपलागि दिन्थे ।
‘एसएलसी पास गरिहालिस् अब पढ्नु पर्दैन ।’ उसकी आमाले एक दिन मेला हिँड्नु अगाडि सम्झाइन् । ऊ रिसले आगो भई । मेला हिड्न तयार भएकी ऊ हातको कचिया मझेरीमा फालेर बुईंगलतिर उक्लिई ।
आमाले हार मानिन् र उसलाई सहर पठाउन राजी भइन् । ऊ खुसीले फुरुङ्गिई र मेला हिँडी ।
त्यसको एकहप्ता नवित्दै ऊ सहर हानिई ।
सहर छिरेपछि उसको दैनिकी फेरियो । नयाँ ठाउँ नयाँ परिवेश । नयाँ रहनसहन । हरेक चिज नयाँ लाग्न थाल्यो । त्यसमा भिज्न उसलाई अलिक समय लाग्ने नै भयो
कलेजको पढाईको चाप उस्तै थियो । घरबाट ल्याएको पैसाले काठमााडौँको खर्च धान्न धौ–धै थियो । ती सबैमा अभ्यस्त हुन उसलाई केही समय लाग्यो । तथापी आफ्नो लक्ष्य प्रति दृढ निश्चयी थिई । आँखामा सप्तरंगी सपना थिए । कलेजमा बिल्कुलै नयाँ साथीहरू ।
कोठा खर्च चलाउन सधैँभरी घरबाट ल्याउनुपर्ने बाध्यता उसलाई ननिको लागिरहेको थियो । कलेज छुट्टी भएको बखत ऊ कामको खोजीमा यसो सहरका कुनाकानी चहार्थी । अफिसका ढोका अघिल्तिर ठिंग उभिन्थि र कुनै भ्याकेन्सी छ कि बुझ्थी । तर महिनौँ वितिसक्दा पनि उसले कुनै काम भेट्टाउन सकेकी थिइनँ ।
एक दिन उसको आँखा कलेज अघिल्तरको एउटा पत्रिकामा छापेको विज्ञापनमा पर्यो । विज्ञापनमा शिक्षित÷अशिक्षित युवायुवतीलाई आकर्षक रोजगारी दिने उल्लेख गरिएको थियो । विज्ञापनमा उल्लेख गरिएको ठेगाना र सम्पर्क पहिल्याउँदै ऊ त्यो ठाममा पुगी ।
बागबजारको एउटा सानो गल्ली भित्रको त्यो अफिसमा ऊ जस्तै दुई तीन जना युवायुवती पनि रोजगारी पाइने आशमा पुगेका थिए । आकर्षक र खाइलाग्दो एक युवक ती युवायुवतीसँग कुरा गरिरहेको थियो ।
नयाँ र अपरिचित ठाउँमा छिरिहाल्न उसको मनले मानेन । ऊ एकछिन् ढोकामा यन्त्रवत् उभिई ।
‘आउनुहोस् न भित्रै’
भित्रको युवक बोल्यो ।
औपचारिकता पुरा गर्दै ऊ भित्र पसि ।
‘भन्नुहोस् केका लागि ?’
‘पत्रिकामा भ्याकेन्सिरहेछ, त्यही बुझौँ भनेर ।’
युवकले फारम अघिल्तिर बढाउँदै भन्यो, ‘यहाँ उल्लेखित कुराहरू भर्नुहोस् र वैयक्तिक विवरण पनिसँगै बुझाउनुहोस्, हामी पछि खवर गर्छौं ।’
उसले त्यहाँ उल्लेखित विवरण भरी र बिदा भएर निस्किई ।
पुसको महिना थियो । साँझको पाँच बजी नसक्दै बातावरण गोधुलिमा परीणत भैसकेको थियो । रत्नपार्कमा बस कुरिरहेकी ऊमा एककिसिमको हतारो छ । त्यस्तै हतारोमा अरुपनि छन् । अघिल्तिरको रानीपोखरी मृत्युवत् मुद्रामा छ । घण्टाघरको सुईको चालसँग मानिसको गतिको संगति मिलिरहेको छैन । मनिसको अनुहारको चटारो, हतारो र बेफुर्सद ऊ पढ्न सक्दिन । तर अनुमान गर्न सक्छे । मानिसहरूको ठूलो पंक्ति बसको प्रतिक्षा गरिहेको छ । त्यस्तैमा ऊ पनि छे । साँच्चै सहरमा बाक्लिँदो भीड र आफैँसँग हराउँदै गएको मान्छेहरूको चालले उसको मन अमिलो हुन्छ ।
चावहिल, चावहिल..
ऊ बस आयो । सबै तछाँड मछाँड गरेर बस भित्र पस्छन् । राजधानीमा बस चढ्न पनि युद्धै जित्नु पर्छ । उसले मनमनै सोची । बसको रफ्तार बिस्तारै बढ्छ । पुरानो वसपार्क, पुतलिसडम हुँदै बस आफ्नै रफ्तारमा अघि बढ्छ । बस भित्र उसको मथिङ्गलमा दिउँसोको युवक, जागिर र बागबजारको पुरानो गल्ली भित्रको सानो अफिस चलचित्रको दृष्य झैँ घुम्न थाल्छ ।
आहा ! काम पाए त । ऊ मनमनै सोच्छे कतिखेर चावहिल आइपुग्छ । बसबाट ओर्लिएर कोठासम्म पुग्छे उसलाई कुनै पत्तो हुँदैन । कोठामा पुग्दा नपुग्दै घरवेटी आमै बोल्छीन् ।
‘नानी तिम्रो फोन आएको थियो, बागबजारबाट, तिम्रो काम पक्का भयो रे । भोलि देखि नै अफिस् जानु रे ।’ यति भनेर आमै माथि उक्लिइन् । उसलाई त्यो खवर पत्यारै लागेन । तर नपत्याई धरै थिएन । आमैले यसै भनेर माथि गएकी थिइन ।
उसलाई कोठामा खाना बनाउने जाँगर चलेन । अघि लागेको भोक पनि पेटभित्रै अलप भयो । खुसी हुँदा भोकले पनि यति चाँडै विर्सन सक्दो रहेछ हगी ? खुसी हुँदै विस्तारामा पल्टिई ।
मनमा अनेक तर्कना आइरह्यो । सुन्दरता पनि ईश्वरको बरदान हो एक मनले सोच्यो । अर्को मनले भन्यो, साँचो मनले कल्पना गरे आँटेको पुग्छ रे । आखिर मैले आँटेको र सोचेको के नै नपुगेको छ र ?
उसलाई मध्यरातसम्म पनि निद्रा परेन । अफिसको त्यही युवक, बागबजारको गल्ली, कार्यालय र बुढी आमैले सुनााएका कुरा नै मष्तिष्क वरिपरि घुमिरह्यो ।
तन्द्रामै रात वित्यो । उज्यालो भयो । खाना खाइओरी सक्दा नौ बज्यो । उसले आफूसँग भएको शृङ्गारका सबै अवयव निकाली अनुहारमा दली । अनुहारमा अँझै चमकता देखा पर्यो । र ऐनसामू आफूलाई उभ्याई । आफैँलाई ऊ अँझै सुन्दर र कामुक लाग्न थाली । एउटी पूर्ण युवती झैँ ।
‘राम्री देखिएकी छ्यौ ।’ बरण्डा कट्नै लाग्दा घरवेटी आमैले भनिन् ।
उसले हाँसेरै टारी दिई ।
बाटोमा मनमनै सोची, ‘म नराम्री नै त कहाँ छु र ?’
उसलाई बाटोमा हिडिँरहेका मानिस र त्यस वरपरका दृष्यको केही याद भएन । सिर्फ कतिखेर बागबजारको अफिस पुगौँ ।
आज अफिसको पहिलो दिन, के भन्ने हो ? कस्तो सोच्ने हो ? गाडिमा पनि उसको दिमाखमा यस्तै आइरह्यो ।
नमस्ते सर !
उसले त्यो युवकलाई अफिसको सिँढीमै भेटी । सायद हाकिम नै उही हुनुपर्छ । कतै अभिवादन पुगेन कि ? कतै औपचारिकतामा गडवडी आयो कि ? ऊ आफैँलाई अनेक लागिरह्यो ।
ए नमस्ते !,
‘चाँडै आइपुगेछौँ त ।’
‘आज पहिलो दिन भएर, फेरि काम पनि त बुझ्नु पर्यो नी’ उसले आवाजलाई अँझै भित्र दवाएर बोली । यस वखत उसको सुन्दरतामा अँझै प्रष्टता देखियो ।
यसबाट युवकको भावभंगीमा थोरै परिवर्तन आयो ।
‘ए !’
उसले ढोका खोल्दै भन्यो ।
‘आऊ भित्र ।’
भित्र आउने अनुमती दियो र बस्न आग्रह गर्यो र उसले कामको विवरण देखाउँदै भन्यो ‘आज देखि तिमीले यो अफिस ह्याण्डल गर्नुपर्छ ।’
‘तर चिन्ता लिनु पर्दैन म बिस्तारै सिकाउँछु ।’ उसले साहस दिँदै भन्यो र कामको बारेमा थोरै बताएर गयो ।
त्यस पछि बिस्तारै उसको दैनिकी फेरियो ।
किन किन उसलाई युवकको चाल, उसको सदासयता र हार्दिकताले मोहित तुल्याउन थाल्यो । अफिसमा खासै काम हुँदैनथ्यो । दिउँसभरी ऊ कता जान्थ्यो उसलाई खासै पत्तो हुँदैनथ्यो । बेलुका अफिस छुट्ने समयमा आइपुग्थ्यो । उसलाई कोठासम्म पुर्याई दिन्थ्यो । कार्यालयमा खासै काम नहुने र मान्छेहरूको आवतजावत पनि नहुने हुनाले ऊ त्यहीँ आफ्नो कोर्षको किताव पढ्थी । मन नलागेको समयमा टोहोल्हाऊन बाहिर निस्कन्थी ।
दशैंमा घर आउने बेलामा आमाले उसलाई भनेकी थिइन्, ‘छोरी अब केही काम खोज है, हामी सधैभरी घरबाटै भरथेग गर्न सक्तैनौँ ।’
आमाले भने मुताविकै काम पाएकी थिई । खुसी नै थिई ऊ ।
नियमित क्याम्पस जान भने पाइनँ । पढाई पनि काम पनि ‘दुवै हातमा लड्डु’ त कहाँ मिल्छ र ? यसै भनेर आफूलाई सान्त्वना दिन्थी ।
अफिसको बोस युवक बिस्तारै उसको नजरमा पर्न थालेको थियो । काम सुरु गरेको झण्डै दुई महिना वित्दा पनि उसले युवकसँग राम्रो कुरा गरेको छैन । त्यसो त कुरा पनि कसरी गर्नु ? ऊ दिउँसो अफिसमा बस्ने भए पो ? बेलुका आउँछ । बाइकमा पछिल्तिर राखेर कोठासम्म पुर्याई दिन्छ र हात हल्लाउँदै बिदा माग्छ ।
फेरि भोलि पल्ट पनि उही । अफिसमा बाहिर सामान पठाउनु पर्ने दिन बाहेक ऊ बाहिरी काममा नै व्यस्त हुन्छ । कुरा गर्ने फुर्सदै पाए पो । किन किन उसाई देख्दा आफूभित्र प्रेम सलबलाएको पाउँछे । अग्लो र खाइलाग्दो जीऊ । टम्म मिलेको दाँत । हँसीलो अनुहार यी सबैले उसलाई कता काउकुती लगाउछँ । धत ! के सोचेकी मैले पनि ऊ आफैँलाई सम्हाल्छे ।
एक दिन अचानक युवकले भन्यो, ‘आज बेलुका मेरो सप्र्राइज छ ।’
ऊ झन् पानी पानी भई । मेरो मनमा टुसाएको प्रेमको अंकूर कतै उसको मनमा पनि ? उसले दिनभरि के के सोची ।
बेलुका ऊ अलि चाँडो आयो ।
‘आज तिमीलाई विशेष सरप्र्राइज छ’, उसले मुख अँझै हँसिलो पारेर भन्यो ।
‘कस्तो सरप्राइज’, उसको कौतुहलता अँझै झाङ्गियो ।
‘आज मेरो जन्मदिनको अवसरमा तिम्रो लागि सानो पार्टी राखेको छु’, उसले खुसीले पुलकित हुँदै भन्यो ।
अफिसको त्यो युवक उसको हाकिम मात्र होइन अन्न दाता पनि थियो । उसको आग्रहलाई नकार्ने प्रश्नै आउँदैनथ्यो । उसले हतार गर्दै भन्यो, ‘चाँडो जाऔँ हिँड त्यहाँ सबै तयारी भैसक्यो, म तिमीलाई लिन आएको ।’
यतिभन्दा नभन्दै ऊ तयार भसकेकी थिई । अफिस बन्द गरेर ऊ त्यही युवकको बाइकको पछिल्तर बसी । युवकले बाइकको गति बढायो र उनीहरू गोधुलि चिर्दै बागबजारबाट केही अगाढी बढे ।
युवकले उसलाई भव्य रेष्टुरेन्टको सानदार कक्षमा पुर्यायो । ऊ सजाई राखेको केक र अनेक परिकारका मिष्ठान्नको अघिल्तिर थिई । युवकले ढिला नगरी उसलाई केक काट्न अह्रायो ।
युवतीले पनि ‘ह्यापी बर्थ डे य’ू भन्दै उसलाई जन्म दिनको शुभकामना दिई । उसले धन्यवाद भन्दै केकको एक टुक्रा उसको मुखमा हालिदियो ।
‘अनि अरुलाई खवर गर्नु भएन ?’ युवतीले टेवलमा राखेको परिकार आफूतिर तान्दै सोधी ।
‘यो तिम्रै लागि हो’ युवकको आवाज केही धरमरायो । रेष्टुरेन्टको डिम लाइट छिचोलेर आएको मधुरो प्रकाशले उसका अनुहारको भाव अँझै बिगार्यो । ‘तिमीलाई म अर्को सरप्राइज पनि दिन चाहन्छु’ युवक अँझै अघि बढ्यो ।
युवतीको मुटुको र स्वासको गतिमा केही परिवर्तन आयो र पनि ऊ यन्त्रवत् तरिकाले टेवलको परिकार खानमै व्यस्त देखिन्थी ।
अनायसै युवकले उसको हात समायो र भन्यो, ‘धेरै अघि देखि मैले तिमीलाई भन्न खोजिरहेको थिएँ ।’ यदि तिमीले स्वीकार्छ्यौँ भने म तिमीलाई मन पराउँछु ।’
‘आई लभ यू’
युवक भावुक देखियो ।
पहिलो पल्ट कोही युवकले उसको हात समातेको थियो । र पहिलो पल्ट कुनै युवकसँग साक्षात्कार भएकी थिई । युवकको हठात्को आग्रहबाट सुरुमा त अताल्लिई तर पनि ऊ केही बोलीन ।
उसको मौनताले रेष्टुरेन्टको मधुरो वातावरण भित्तामा ठोकिएका प्रकाशहरूलाई चिर्ने साहस गरेनन् । र ऊ आँखाहरू जमिनतिर ओच्छ्याएर मूर्तिवत् मुद्रामा घोत्लीइरही ।
युवकको प्रेमको भाषाले उसको मनको कुन्तरतिर कोतर्न थाल्यो । एकमनले सोची, चुपचाप स्वीकारी दिऊँ । आखिर मेरो कल्पनामा त ऊ पनि आएकै होनी । एक कदम अघि बढेर ऊ नै समर्पित भयो, के नै विग्रियो र ? अर्को मनले अहँ हतार गर्नु हुँदैन । मन धेरै बेर दोमनमा रहन पाएन । युवतीले पनि हुन्छ भनिदिई । युवकको अनुहारमा खुसीका रेखाहरू छरपष्ट देखिन थाल्यो ।
कतिखेर टेवलका परिकारहरू सिध्धिइसकेछन । दुवैलाई पत्तो भएन ।
केही बेरमा युवकले भन्यो, ‘आज यतै बसौँ है ?’ सुरुमा त उसले नकारी । तर युवकको आग्रहलाई पन्छाएर अघि बढ्ने साहस उसमा पलाएन ।
‘हुन्छ’ आग्रह स्वीकार गरी ।
युवकले कोठाको बन्दोवस्त गर्यो ।
जीवनमा पहिलो पल्ट ऊ कोही नयाँ युवकको आलिङ्गनमा थिई । युवकको कसिलो अङ्गालो उसलाई कुनै पनि अर्थमा भद्धा र अप्ठ्यारो लाग्ने किसिमको थिएन । उसको तातो निश्वास उसलाई झन् मादक लाग्न थाल्यो । र प्रेममा बहकिई या समपर्णमा हुत्तिई उसलाई कुनै प्रवाह भएन ।
उसले त्यो रात मन, भावना र भौतिकता सम्पूर्ण रुपमा त्यस युवकको आलिङगनमा बेपरवाह हुत्याइदिई ।
00
उसका दुर्दिनहरू सुरु भए ।
त्यसपछि त्यो युवक उबाट अनायसै टाढिन थाल्यो । युवकले उसबाट जे अपेक्षा गरेको थियो त्यो पूर्ति पछि ऊ बिस्तारै बिस्तारै ओझेल पर्यो । उसको हार्दिकता, सदसयता पनि रंगमञ्चमा प्रदर्शित नाटक झैँ लाग्न थाल्यो
चलचित्रले झैँ जिन्दगीले नयाँ मोड लियो । अब उसलाई सुन्दर र कामुक लाग्ने आफ्नो यौवनले आफैँलाई गिज्याउन थालेको भान हुन थाल्यो । आवेग र उत्तेजना माथिको नियन्त्रण गुमाउँदाको परिणती र भ्रुणको रुपमा विकास हुँदै गरेको सम्बन्धबाट त्यो युवक क्षितिज पारी पुगिसकेको थियो ।
सहरको भीडमा एक्लो जीवन व्यतित् गरिरहेकी ऊ त्यसपछि नितान्त एक्लो भई । एक छिन्को गल्तीकोपश्चातापको अब कुनै अर्थ थिएन । कल्पना गरेभन्दा कठोर भएर आएको परिस्थितिको सामना गर्न आफूलाई भौतिक रुपमै सवल पार्नु उसको एकमात्र बाध्यता थियो ।
एक दिन मनमा धैयर्ता जुटाएर आमा काठमाडौँ आएको बखत सबै बेलिविस्तार लगाई । छोरीको कहाली लाग्दो कुरा सुनेर आमाले व्यक्त गर्ने शव्द नै पाइनन् । इज्जत जाने र परिवारको नाक काटेको संज्ञा दिएर आमाले बचनबाँड मात्र हानिनन्, उल्टै ‘जहाँसुकै गएर मर तर मेरो अघिल्तिर नआउनु’ भनेर’ गाउँ फर्किइन् ।
अब ऊ क्रमशः घर, गाउँ समाजबाट टाढिई । समाजले अपहेलनाको काँडेदार बचन मात्र होइन छिः छिः दुर् दुर् गर्न थाले । सबैले उसलाई नै दोषी देखे ।
गर्भमा जसको भ्रुण हुर्किइरहेको थियो त्यो युवक खोज्न उसले आफ्नो भएभरको बल खर्चिइ र पनि पत्ता लगाउन सकिन । प्रहरी, न्यायालय आदि धाउँदा धाउँदै उसले नपाउनु दुःख पाइसकेकी थिई । नाजायज सम्वन्धबाट रहन गएको गर्भमा विकसित हुँदै गएको भु्रण तुहाउने सोच पनि उसमा नआएको होइन ।
‘आफ्नो क्षणिक भावना र उत्तेजनाको सजायँ यो निरापराधी भ्रुणलाई किन दिऊँ ?’ उसको मनले यही सोच्थो र भु्रणलाई जन्माउने साहस बटुल्थी । अन्तिममा उसलाई साथ दिने तिनै घरवेटी आमै भइन् । ती आमैले उसलाई राम्रो सहारा मात्र दिइनन् अभिभावकत्व पनि निभाइन् ।
बच्चा जन्मियो । सुत्केरी तिनैले उतारिदिइन् । जस्तो भएपनि सन्तानको मायाँ त आमालाई हुन्छ नै गाउँबाट आमाले पनि उनलाई भरथेग गरिन् । एउटा सानो गल्तीले नरक बन्न पुगेको जीवनमा आखिर त्यही छोरी साथी बनेर आएकी थिई ।
अब त छोरी पनि अठार वर्ष पुरा भैसकेकी छे । तर पनि जीवनबाट भाग्न खोजेको प्रश्नको झटारोले जहाँ गए पनि नछोड्दो रहेछ । प्रश्नहरूबाट तर्किएर बाँच्न खोज्यो, कसैले अनायसै खोज्छ यसको बाबु खोई ?
स्यानो हुँदा छोरीले पनि यही प्रश्नले चितोर्थी कोपर्थी तर उसले त आज भोलि बुझिसकेकी छे । मेरो कहालीलाग्दो विगत नकोट्याउन ऊ राजी भएकी छे तर समाज फेरि पनि मेरो खाटा बसिसकेको घाऊ कोटयाइदिन्छ ।
आज फेरि मेरो सामू कानून तगारो बनेर उभिएको छ । मैले मेरो छोरीलाई नाम दिन सकेको छैन । राज्यले दिने एक थान नागरिकताका लागि यो मेरो छोरी अवैध भएकी छे, कारण यो बाबुको नाम, थर र वतन खुलाउन म असमर्थ छु ।
आज यो विना बाबुको छोरी भएकी छे । र राज्याको आँखामा अवैध छोरी ।
उसको र मेरो नाजायस संसर्ग कानून विपरित भएपनि कानूनले खुलाएकै प्रकृया र उस्तै तरिकाले जन्मिएकी मेरी छोरीले किन आमाको नामबाट नागकिता पाउँदिन, कसैसँग छ यसको जवाफ ? अस्तु ।

0 comments

Write Down Your Responses