भरौं मानो जोखौं तुलोः कस्को दु:ख ठूलो !

लक्ष्मण कार्की - बुबा – लु केटा अब आजै घर हिंडिहाल् त ।
म – यस्तो बेलामा कहाँ घर आउनु ?
बुबा – घर आउने नै यस्तो बेलामा त हो नि हप्तादिनको छुट्टी लिएर आउनु ।
म – अहिले छुट्टि मिल्दैन बुबा ।
बुबा – मलाई केही थाहा छैन । केटाकेटीलाई पनि लिएर भोलि नै घर आउनु । यस्तो बेलामा त सँगै हुनुपरो नि केटा ।
म –अझै भुईंचालो जाने सम्भावना छ अहिले बाहिर हिंड्दा झन गाह्रो हुन्छ रे । गाडी चलेकै छैनन् । खुलेपछि म आउँछु । अहिले चिन्ता नगरि बस्नु ल ।
भूकम्प गएको दिन बुबालाई जस्तै ममि र श्रीमति अनि ससुराली मामलीमा नातेदारलाई फकाउन यस्ता अनेकौ ट्रिक लगाउनुपर्यो । थामथाम थुमथुम पारेपछि बल्ल आजै र अहिल्यै घर आउन उहाँहरुको ढिपी केही मत्थर भयो । सवैजसो साथीभाई नातागोता र चिनारु सवैजसो खुला ठाउँमा बसेको बताउँछन् । र म चाहिँ अफिस मै काम गर्दैछु । सुन्नासाथ आतिएर भन्छन् – आम्मै यस्तो बेला पनि अफिसमा ? तुरुन्त खुला ठाउँमा जानुपर्छ ।
भूकम्पको झड्का महसुस भएपछि सुरक्षित रुपमा खुला ठाउँमा जानुपर्छ भन्ने बिषयमा म आफै रेडियो कार्यक्रम चलाउँछु र रेडियोबाट सवैलाई आग्रह गर्दै आएको छु पनि । तर अहिले अवस्था उल्टो छ । आफै घरभित्रै बसिरहनुपरेको छ । तर, घरलाई केही भैहाल्दैन भन्ने एक खालको निश्चितता भएर मात्र ! विनासकारी भूकम्पबाट हताहत हुनेको संख्या बढिरहेको छ । घाइते र घरबारविहिन हुनेहरु पनि बढिरहेकै छन् । दुख्खैदुख्खले दिमाग रन्थन्याइरहँदा दिमागको चेपचापबाट खुशीका खबरपनि छुस्स भित्र छिर्छन् । भुकम्पको सय घण्टा बितिसकेपछि पनि कसैकसैलाई उद्धारकर्मीले जिवितै उद्धार गरिरहेका छन् । धरहराबाट हाम फालेर पनि केही बाँचेका छन् ।
५/६ दिन पछि पनि पीडितलाई जीवितै उद्धार गर्ने उद्धारकर्मीको अनुहार र बर्दी देख्दा ज्यानमा सरर्ररररर काँडा उम्रिन्छन् । आफ्नो घर भत्किएको र दिदी भिनाजु सम्पर्कविहिन भएको बेलापनि सशस्त्र प्रहरी जवान विश्व भण्डारी भक्तपुरमा भुकम्पमा पुरिएकालाई खोज्दै गरेकोबारे उज्यालो अनलाइनमा साथी पिटी लोप्चनले लेखेको सामाग्री पढ्ने त कसका आँखा रसाएनन् होला ? अनि कसको छाति गर्वले ढक्क फुलेन होला र ?
शनिवार भूकम्प जाँदा म थानकोटमा थिएँ । भूकम्प लगत्तै भुकम्पको आतेशले लर्वराएको ज्यान र आतंकित मन सम्हाल्दै रेडियो अन गरें । साथी मिलन तिमिल्सिना भूकम्पको अपडेट गर्दै हुनुहुन्थ्यो । अल्लिपछि अरु रेडियोले पनि भूकम्पको कुरा गर्न थाले । आमाबुबा, श्रीमति र छोरालाई पालैपालो फोन लगाउने प्रयास गर्दै कानमा मोबाइल च्यापेर म त्रिभुवन पार्कको गेटतिर दौडिंए । त्रिभुवनको शालिक ढलेर एक बालकको ज्यान गएको थाहा भयो । त्यहाँ आलो रगत मात्र थियो ।
बाहिर निस्कँदा एउटा विद्यालय भवन लड्न तयार थियो । त्यसको फोटो खिच्न भ्याउँदासम्म अरु २ वटा झड्का गईसकेका थिए । त्यस बीचमा बल्ल एकपटक रेडियोमा फोन लाग्यो र थानकोटमा भएको हताहतिको विवरण जानकारी गराउन पाएँ । भूकम्पले हल्लाइरहँदा पनि मेरो कानमा एयरफोन घुसारिएकै थियो साथीहरु रेडियोमा भन्दै थिए – हामी स्टुडियोमा छौ अहिले पनि भूकम्प गइरहेको छ । जिउभरि सिरिङ्ग काँडा उम्रिए । सवै साथीलाई सम्झिएँ । अलि ढुक्क हुने आधार के थियो भने उज्यालो घर भूकम्प प्रतिरोधी थियो ।
विदा लिएको र लगातार भुईंचालोका झड्का गइरहेको भए पनि म दिउँसो कार्यालय पुगें । भूकम्प प्रतिरोधी उज्यालो घरको भुईंतलाको पर्खाल पनि चर्किएछ । साथीहरु थकित उदास र आतंकित थिए । भूकम्प जाँदा को कहाँ कस्तो हालतमा थियो भन्ने बेलिबिस्तार साटासाट गरेपछि रेडियोबाट भूकम्पबारेको पछिल्लो अपडेट दिने मोर्चामा म पनि समावेश भएँ । सहकर्मी धेरैजसोका घरमा नोक्सानी पुगेको छ । मिलन, सुफल, प्रकाश र पिटीको गाउँका घर ध्वस्त भएका छन् । दिपाको घर र माइती दुवैतिरका घर भत्किएछन् । तर सवै कामकै मोर्चामा खटिएका छन् । नागरिकलाई जोगाउन अलिकति भए पनि योगदान गर्न सकिन्छ कि भनेर !
आपतमा परेकाले राहत पाउँछन् कि भनेर, उनीहरुको आहात मनमा शब्दकै माध्यमबाट राहत दिन सकिन्छ कि भनेर । परिवारका सदस्य बारीमा बसिरहँदा सवै आफ्ना दुख्खका कुम्लाकुटुरा विसाएर मोर्चामा खटिएकै छन् । त्यसपछि कम्तिमा पाँचपटक भुकम्पबारे बताउँदै गर्दा भुईंचालो गइरहेको थियो । कतिपटक त भूकम्प गएका बेला नआतिनुहोला भन्दै गर्दा आफै बसेको स्टुडियोको कुर्सि नै हल्लिरहेको हुन्थ्यो । साँच्चै भन्दा भागौं कि बसौं भनेर दोमन भइरह्यो । तर स्टुडियोको ढोका खुल्लै राखेर भए पनि हामी बोलिरह्यौ । अर्कोदिन भुइतलामा स्टुडियो सारेर पनि हामीले भुकम्पबारे सकेसम्मका अपडेट दिइरह्यौं । दिइरहेका पनि छौ । उज्यालो ९० नेटवर्क र उज्यालो अनलाइन डटकममार्फत ।
मोबाइल रेडियो स्टेशन बनाउने योजना सफल भएको भए हामी ठाउँठाउँबाटै रेडियो सञ्चालन गर्नेवाला थियौं । सोमबार विहानै हामी गोंगबु पुग्यौं । लडेर पुरै धराप थापेजस्तो भएको घरमा सानो सुरुङ्ग बनाएर सशस्त्र प्रहरीको टोली भित्र बाहिर गरिरहेको थियो । त्यहाँ  सशस्त्र प्रहरी निरीक्षक एलवी बस्नेत सहितको टोली थियो । भित्रपट्टी एकजना ब्यक्ति जिवितै रहेछन् । उनलाई पानी खुवाएर र एउटा कम्मल ओढाएर सशस्त्रको टोली बाहिर आएको रहेछ । तर उनलाई बाहिर निकाल्न समस्या थियो । उनले आफ्नो गोडा काटेर भए पनि बाहिर निकाल्न आग्रह गरिरहेको सुनाउँदा इन्स्पेक्टर बस्नेत स्वयम् स्तब्ध भएका थिए ।
उनलाई निकाल्न अति नै चुनौतीपूर्ण रहेको बताउँदै गर्दा बस्नेत लाष्ट टाइम एप्रोच गर्छु भन्दै कम्तिमा चारपाँच चोटी भित्र पसे । उनको साहस जति सम्मान गरे पनि कमै हुने खालको थियो । त्यहाँ सुरुङ्ग बनाउन सशस्त्र प्रहरी अघिल्लै दिनदेखि लागेको रहेछ । जहाँबाट चीनिया टोली अब पार लाग्दैन भनेर फर्किएको रहेछ । त्यस्तो दृष्य देखेपछि मलाई लाग्यो भूकम्प जाँदै गर्दा स्टुडियोमा बसेर समाचार भन्दै गर्नुभन्दा उद्धारका लागि खटिएका उद्धारकर्मीको काम धेरै गुणा चुनौतीपूर्ण हो । थप धक्का गइरहेका बेला उनीहरुलाई जुनसुकै बेला पनि केही हुन सक्थ्यो ।
अल्लि तल्तिर भेटिएका सशस्त्र प्रहरीका नायव उपरिक्षकले भने धेरैजसो सशस्त्र प्रहरीका घर परिवार आफन्त पहिरोमा परेको सुनाए । हाम्रा धेरैजनाको परिवार भुकम्पमा परेका छन् । तर हामी आफ्ना दुख्ख बिर्सेर खोज उद्धार तथा राहतमा जुटेका छौं । यसो भन्दा उनको अनुहार रातो भएको थियो । एकखालको गर्व प्रष्टै झल्किन्थ्यो । त्यहि दिन सीतापाइलामा चर्च रहेको एउटा भवनबाट धमाधम शव निकालिरहेको देख्दैखेरि भाउन्न भइसकेको थियो । गन्हाउन थालिसकेका शव, तिनका आफन्तको रुवावासीका दृष्यले मनभित्रैदेखि हुँडलेको थियो । २ हप्तादेखि कसैलाई नभनि चर्चमा प्रार्थनाका लागि पुगेका ब्यक्तिहरु पुरिएर मरेका थिए ।
केही महिना अघि मात्र विहे गरेकी उनकी जीवन संगिनीको विलौना देख्दै भक्कानो फुट्थ्यो । लाग्यो उनको दुख्ख पनि उस्तै ठुलो हो । बालाजुमा पुग्दा तीन चारवटा डोजर र स्काभेटर सहित उद्धारको काम शुरु भएको थियो । त्यहाँ २ वटा लज भत्किएकाले त्यहाँभित्र धेरैजना रहेको अनुमान गरिएको थियो । एकजना स्थानीय आएर भने घरभित्रबाट मलाई बचाउनुहोस् भनेर फोन गरेको साथीलाई बचाउन सकिएन । त्यति भनिसक्दा उनी भक्कानिइहाले । मन अमिलो भएर आयो । गोंगबुबाट फर्किदै गर्दा हाम्रो भ्यानलाई एकजना दाईले रोके । कुनै विपतकै कुरा होला भनेर हामीले रोक्यौं ।
मोटरसाइकलमा हुत्तिदै आएर उनले सुनाए मेरि श्रीमति घरभित्रै थुनिएकी छिन् । ३ दिन भइसक्यो प्रहरी सेना कसैले पनि ध्यानै दिंदैन । हिजोसम्म भित्रबाट बोलेको आवाज आइरहन्थ्यो तर अब त .......। उनले बाक्य पूरा गर्न सकेनन् । सकुन् पनि कसरी ? जसकी श्रीमति घरभित्र च्यापिएकी छन्, हिजोसम्म गुहार माग्दै थिइन् र अब आवाज सुनिन छोडिएको छ । उफ्फ्फ्फ् दिमाग त्यसै त्यसै बोधो भएजस्तो भयो । सोचें समस्या सवैका छन् । यस्तो विपतका बेलामा पिर चिन्ता र समस्या नभएको कोही हुँदैन रहेछ । त्यहि भएर पाँचदिनसम्म कोठामा जाँदै नगएर कार्यालयमै सुतेर हामी खटिइरहेका छौं निरन्तर ।
यी केही प्रतिनिधि घटना देखे, भोगे र सुनेपछि लाग्दैछ “भूकम्पबाट ज्यान गुमाउने त गै गए । घाइते भएका, ५/६ दिनसम्म थुनिएका र उनीहरुका आफन्त मात्र होइन, भत्केको घरले किचेर मार्न सक्ने जोखिमका  बेला पनि अस्थिपञ्जर जस्ता बनेका घरभित्र छिर्ने उद्धारकर्मी, वा भुईंचालो जाँदैछ सुरक्षित भएर बसौ भन्दै गर्दा आफै ३/४ तलामाथिको स्टुडियोमा बस्ने सञ्चारकर्मी सवैका दु:ख छन् । कुरा त दु:खको मात्रा कति छ भन्ने मात्र हो ।

0 comments

Write Down Your Responses